सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा हल्का वर्षा र हिमपातको सम्भावना


सुर्खेत । आज सुदुरपश्चिम र कर्णाली तथा लुम्बिनी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार देशभरकै मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य प्रदेशमा भने बादल लागे पनि पानी पर्ने सम्भावना छैन । तत्कालका लागि प्रदेश १, बाग्मती, गण्डकी र मधेस प्रदेशमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले सुनाइन् ।

मौसमविद् मानन्धरका अनुसार यो हिउँदमा अब हल्का हिमपातको सम्भावना रहे पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन । पानी नपर्दा किसान मर्कामा परेका छन् । हिमपात र वर्षा नहुँदा हिउँदे बालीमा नोक्सानी हुने गरेको छ । यस्तै, सुक्खापन बढेकाले यसपालि आगलागीका घटना समेत बढ्ने जोखिम रहेको छ।