कोशी सरकार कामचलाउ

 

सुर्खेत । कोशी प्रदेश सरकार कामचलाउ बनेको छ । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकार कामचलाउ बन्न पुगेको हो ।

सभामुख बाबुराम गौतमको समर्थनसमेत लिएर २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाविरुद्ध नेकपा एमालेको प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चले मुख्यमन्त्रीका लागि थापाले पेश गरेको दाबी, समर्थन, हस्ताक्षर र प्रदेश प्रमुखले गरेको मुख्यमन्त्री नियुक्तिको निर्णयको सक्कलप्रति ३ साउनसम्म पेश गर्न आदेश दिएको छ ।

त्यस्तै यो प्रकरणमा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमसँग लिखित जवाफ पनि माग गरेको छ । त्यसपछि ७ साउनमा सुनुवाइ तोकेर निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको छ ।