बैंकहरुले साढे २१ अर्ब कर योग्य आय लुकाए


सुर्खेत । बैंक तथा वित्तीय संस्थाले नउठेको ब्याज वापतका करयोग्य आयबाट कर नतिरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले यस विषयमा छानबिन गरी कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

३९ वटा बैंक तथा वित्तीय संस्थाले कर योग्य रुपमा रहेको २१ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ आय विवरणमा नदेखाएको महालेखाले उल्लेख गरेको छ । उक्त आय बापत लाग्ने ६ अर्ब ४७ करोड ३५ लाख कर छानबिन गरी असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको हो ।

एनएफआरएस लागु भएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ब्याज आम्दानीलाई प्रोतभावी आधार (एक्रुअल बेसिस) मा लेखांकन गनुपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानीको लेखांकन तरिका परिवर्तन भएको थियो ।

त्यसपछि बैंकहरुले नउठेको ब्याज आम्दानीलाई आय देखाएर कर तिर्नुपर्नेमा बैंकहरुले कर नतिरेको भन्दै महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको हो ।