काठमाण्डौ विश्वकै प्रदूषित सहर


सुर्खेत । काठमाण्डौ विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा रहेको छ । अघि पौने १२ बजे हावाको गुणस्तर मापक सूचक (एक्यूआई) अनुसार काठमाण्डौ सहर पहिलो सूचीमा रहेको हो ।

केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । काठमाण्डौको एक्यूआई अहिले २ सय ८ रहेको छ । यसअघि बिहान साढे ९ बजे एक्यूआई १ सय ९२ रहेको थियो । त्यसबेला काठमाण्डौ सहर दोस्रो स्थानमा रहेको थियो ।

देशका अन्य सहरमा पनि प्रदूषण बढेको छ । बिहान सूचीको पहिलो स्थानमा रहेको थाइल्याण्डको च्याङमाइ सहर अहिले दोस्रो दूषित सहरका रुपमा रहेको छ । च्याङमाइको एक्यूआई बिहान २ सय २२ थियो भने अहिले घटेर १ सय ८३ रहेको छ । यस्तै, तेस्रो स्थानमा भारतको कोलकाता रहेको छ ।

बिहान दिल्ली तेस्रो र कोलकाता पाँचौँ स्थानमा रहेका थिए । अहिले दिल्ली नवौँ स्थानमा छ । त्यस्तै, चौथो स्थान पाकिस्तानको लाहोर र पाँचौँमा बङ्लादेशको ढाका रहेको छ ।

डढेलोका कारण देशभर वायु प्रदूषण बढेको वातावरण विभागले जनाएको छ । अहिले पनि काठमाण्डौ उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रहरुले हावा प्रदूषित भएको जनाएका छन् ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । ५१ देखि १०० सम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दामाथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुन्छ ।