चिकित्सकमाथि कुटपिट गर्ने चार जना पक्राउ

सुर्खेत । हेटौंडा उपमहानगरपालिका -२ स्थित सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने चार जना पक्राउ परेका छन् ।

हेटौंडा १२, पदमपोखरीका -४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने चार जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको हो ।

बुधबार बिहान १० बजे हेटौंडाको सन्चो अस्पतालमा उनीहरूसहित केही व्यक्तिहरूले दुई जना चिकित्सकमाथि कुटपिट गरेका थिए। सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा.प्रशान्त विडारीमाथि कुटपिट भएको हो। अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

पीडितले बिहीबार जाहेरी दिने तयारी गरेका छन् । गत साउन २५ गते हेटौंडा १२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। राजेशलाई डेंगीका कारण निमोनियाको समस्या देखिएको थियो । सुरूमा उनलाई साउन २२ गते सन्चो अस्पतालमै लगिएको थियो।