कर्णाली प्रदेश अस्पतालबाटै अब मिर्गौला प्रत्यारोपण हुने


सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाटै अब मिर्गौला प्रत्यारोपण हुने भएको छ । शनिबार गरिएको पहिलो मिर्गौला प्रत्यारोपण सफल भएको अस्पतालले जानकारी गराएको छ । आइतबार अस्पतालले पत्रकार सम्मेलन गरि मिर्गौला प्रत्यारोपण बारे जानकारी गराइएको थियो ।

नवलपरासीका २२ बर्षीय युवक कर्णाली प्रदेशमा दिईएको यो सेवा लिने पहिलो व्यक्ती बनेका छन् । बर्दघाट नगरपालिका–४ का ती युवकलाई ४३ बर्षीया आमाले आफ्नो मिर्गौला दिएको अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

‘सबै कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा गरेपछि पहिलो मिर्गौला प्रत्यारोपण गरिएको हो,’ खड्काले भने । कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाबाट कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शल्यक्रिया गर्ने टोली आएको थियो ।

टोलीमा प्रत्यारोपण केन्द्रका शल्यचिकित्सक डा.रविकिरण गौतम, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. रस्मित श्रेष्ठ, नेफ्रोलोजिष्ट डा. सुमित आचार्य, डा.दीपा लामिछाने, रेडियोलाजिष्ट डा. समीर दवाडी थिए ।

प्रत्यारोपणमा प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काको नेतृत्वमा सल्यचिकित्सक डा. गणेश थापा, डा. विकास खड्का, एनेस्थेसियोलोजिष्ट डा. पुजन बल्ल, डा. जेनी बज्राचार्य, फिजिसियन डा. कुलराज शाही, अपरेशन थियटरका ईन्चार्ज प्रभा रावल लगायतको टोली सहभागी भएको थियो । खड्काका अनुसार मिर्गौला प्रत्यारोपण गरिएको बिरामी पाँच दिनमा डिस्चार्ज हुने छ ।

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले अस्पतालको कुशल पूर्वाधार र प्रशासनिक व्यवस्थापनले पहिलोपटक मिर्गौला प्रत्यारोपण सफल भएको बताए । उनले भने,‘ अब पश्चिम क्षेत्रको प्रत्यारोपणको माग कर्णाली प्रदेश अस्पताले पूरा गर्नेगरी लाग्नुपर्ने हुन्छ ।’