सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक दर्ता गर्ने सरकारको निर्णय


सुर्खेत । सरकारले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको छ । बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको हो । केही दिनअघि सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट निवेदन दर्ता गर्ने आदेश दिने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको थियो ।

आदेशमा शान्ति सम्झौता, नेपालको संविधान, सर्वोच्चबाट भएको फैसला तथा अन्तर्राष्ट्रिय कानुन र सिद्धान्तबमोजिम पीडितहरूले सत्यतथ्य जानकारी पाउने तथा न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाइ अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने उल्लेख छ । अदालतको आदेशसँगै प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको पेसी आज बिहीवारलाई तोकिएको छ ।

यस्तै, बिहान बसेको मन्त्रिपरिषद्को बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाएर यथाशीघ्र मन्त्रिपरिषदमा पेस गर्ने निर्णय पनि गरेको छ ।