आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै


सुर्खेत । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नाराका साथ छैटौँ ‘आईसीटी डे’ मनाउन लागिएको हो । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार दिवसका अवसरमा सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गरिनेछ ।

सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर थप छलफल र अध्ययन गर्ने उहाँको भनाइ छ । नेपालमा कम्प्युटर एसोसिएशन नेपाल ९क्यान० सन् १९९२ मा स्थापना भएको थियो, क्यान स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो।

नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने उद्देश्यका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनमा ल्याएको छ ।

सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारसँगै साइबर अपराध पनि बढ्दै गएको छ । ह्याकिङ, बौद्धिक सम्पत्ति चोरी, क्रेडिट कार्ड क्लोनिङ, फिसिङ, व्यक्तिको मानहानि, सफ्टवेयर पाइरेसी, झुटा इमेल, यौन उत्पीडन, साइबर बुलिङलगायतको जोखिम बढेको छ ।

ह्याकर र साइबर अपराधीले नेपालका सूचना तथा सञ्चार प्रविधि सम्बन्धी गतिविधिलाई नियालिरहे पनि रोकथाममा प्रभावकारी काम हुन सकेको छैन । केही समय अघि इजरायल र फ्रान्स लगायत देशबाट नेपालको सरकारी डाटा सेन्टरमा आक्रमण भएको थियो । त्यसैका कारण सरकारी वेबसाइटहरू केही समय बन्द भएका थिए भने अध्यागमन विभागमा समेत असर परेको थियो । केही वर्षपहिले पनि सरकारी डाटा सेन्टरमा साइबर आक्रमण भएर सरकारी वेबसाइटहरू बन्द भएका थिए ।

राज्यले नागरिकको डाटा सुरक्षा गर्न नसक्दा सरकारी सेवाहरूप्रतिको विश्वास घुम्दै गएको छ ।
यस्तै दिवसका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिँदै सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवा थप प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समेत शुभकामना दिएकी छन् । उनले दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोर–जी सेवा देशभर विस्तार गरिएको बताइन् ।