प्रधानन्यायाधीशको राजीनामा नआएपछि बार दोस्रो चरणको आन्दोलनमा


काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसोसिएशनले दोस्रो चरणको आन्दोलनको तयारी गरेको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो ।

आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै बारले काठमाण्डौ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७ गतेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन गरेको थियो । आन्दोलनको भावी रणनीतिको लागि बारले हिजो देशभरिका एकाइका अध्यक्ष, सचिवहरूसँग भर्चुअल छलफल गरेको थियो ।

परामर्श भइरहेको र सुझावको आधारमा थप विरोधका कार्यक्रम पछि तय गरिने बारले जनाएको छ । सर्वोच्चमा प्रधानन्यायाधीश राणाविरुद्ध न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् । उनीहरूको समर्थनमा बारले पनि सङ्घर्ष गरिरहेको छ ।