नेपाल दूरसञ्चार प्राधिकरणले आज स्थापना दिवस मनाउँदै


सुर्खेत । नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्राधिकरण २५औँ वर्ष पूरा गरी २६औँ वर्षमा प्रवेश गरेको छ । प्राधिकरण २०५४ साल फागुन २० गते स्थापना भएको थियो ।

स्थापना दिवसका अवसरमा प्राधिकरणले सेवालाई भरपर्दो र सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएको छ । अहिले नेपालमा दूरसञ्चार सेवाको अवस्था सन्तोषजनक नै रहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

अहिले फिक्स्ड टेलिफोन सेवा प्रयोगकर्ता २ दशमलव ८ प्रतिशत र सिमकार्ड बिक्रीको आधारमा मोबाइल सेवाको घनत्व १२६ दशमलव ०२ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

तर अझै पनि कतिपय ग्रामीण विकट क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा पुग्न सकेको छैन । त्यस्तो क्षेत्रमा सेवालाई प्रभावकारी बनाउन लागिपरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको स्थापना दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शुभकामना व्यक्त गरी दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन तथा नियमित र व्यवस्थित गर्न आग्रह गरिन् । उनले डिजिटल नेपाल निर्माण गर्न, पूर्वाधारको विकास तथा विस्तारमा निरन्तर लाग्न पनि आग्रह गरेकी हुन् ।