सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा हिजो ट्रमा सेन्टरका डाक्टर कुट्ने प्रहरी निलम्बनमा परेका छन् ।
राष्ट्रपति भण्डारीको सवारीका बेला हिजो ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको अनुसन्धान गर्नका लागि गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए ।
राष्ट्रपतिको सवारीको बेला प्रहरीले बाटो हिँड्न पनि रोक लगाउँदै ट्रमा सेन्टरका डाक्टर सिँहलाई कुटपिट गरेको थियो । घटनाको विरोध गरेका अरु डाक्टर र स्वास्थ्यकर्मीलाई पनि प्रहरीले लछारपछार गरेपछि चौतर्फी विरोध भएको छ ।
घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
फरकबाटो २८ माघ २०७९, शनिबार १९:१५