दक्षिण कोरियामा रोजगारीका लागि उत्पादनतर्फ उत्तीर्ण हुनेको सङ्ख्या थपियो

काठमाण्डाै । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ ।

उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट ३ हजार १ सय ३० र दोस्रो चरणको परीक्षाबाट ३ हजार ७ सय ८३ गरी कुल ६ हजार ९ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो ।

उत्पादनतर्फको परीक्षामा उत्तीर्ण गराउनेको सङ्ख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट ६ हजार ७ सय ५२ र दोस्रो चरणबाट ८ हजार १ सय ६१ गरी कुल १४ हजार ९ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार ९ सय र कृषितर्फ नौ हजारले फारम भरेका थिए ।

उत्पादनतर्फको पहिलो चरणको परीक्षा गएको साउन २ देखि सुरु भएको थियो । दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ । पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका निर्देशक पुष्पराज कटुवालले परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढ्ने भएसँगै रोजगारीका लागि कोरिया जाने युवाको सङ्ख्या पनि बढ्ने बताउनुभयो । सन् २००८ देखि ईपीएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जाँदै आएका छन् ।

ईपीएसबाट अहिलेसम्म ७३ हजार नेपाली कोरिया पुगिसकेका छन् । कोरिया जानेहरुले झण्डै ५ वर्ष काम गर्न पाउँछन् । दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत विभिन्न १६ देशबाट श्रमिक लैजाँदै आएको छ । ईपीएसबाट श्रमिक लैजाने देशको सूचीमा नेपाल दोस्रो स्थानमा छ । सबैभन्दा बढी कम्बोडियाबाट श्रमिक कोरिया पुगेका छन् ।