एमालेमा माओवादीको बीउ रोपेका छौँ, केही समयपछि त्याे फुल्छ : प्रचण्ड

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको बताएका छन् ।


आज काठमाण्डौमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताएका हुन् ।

उनले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिस्ट रहेका र उनीहरुलाई पनि समेटेर जानुपर्ने आवश्यकता भएको बताएका छन् । अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने हो भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए ।

अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गरे । उनले आत्मसमीक्षा गरेर सबै माओवादी एकजुट भइ जनतामाझ जानुपर्ने बताएका छन् । उनले आफूविना कसैले पनि माओावादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबीसमेत गरे । अध्यक्ष दाहालले आफ्नो उदारतावादीले कहिलेकाहीँ धोका खाएको बताए ।