न्यायिक मध्यस्तकर्ताहरुलाई क्षमता विकास तालिम


सुर्खेत । दलित महिला संघ सुर्खेतले वीरेन्द्रनगरभित्रका न्यायिक मध्यस्तकर्ताको लागि क्षमता विकास तालिम दिएको छ । संस्थाद्वारा संचालित नेपालमा दलित महिलाहरुको मानवअधिकार सुदृढिकरण परियोजना अन्तर्गत गठित समूहका महिलालाई आइतवारदेखि सो तालिम दिइएको हो ।

तालिमको सुरुवात गर्दै दलित महिला संघका अध्यक्ष मन्जु सुनारले यस तालिमले अनौपचारिक न्यायिक मध्यस्तकर्ताको क्षमता अभिवृद्धि हुने अपेक्षा राखिन् । आज सोमवारसम्म संचालन हुने तालिममा न्यायको परिभाषा, प्रकार, बैकल्पिक विवाद समाधान, न्याय प्रदान गर्ने निकाय, चुनौती तथा महिलामाथि हुने हिंसाहरुका वारेमा जानकारी गराइनेछ ।

यसैगरी दलित ऐन, न्यायिक समिति र यसको महत्व, न्यायका सिद्धान्त, सरकारी मुद्धा, अनुसन्धानलगायत विविध पक्षका वारेमा पनि जानकारी गराइनेछ ।

परियोजना जिल्ला संयोजक खगिसरा वलीले तालिममा नेपालको संविधानमा समावेश मौलिक हक र यसमा व्यवस्था भएका कानुनी व्यवस्थाका वारेमा पनि सहभागीहरुलाई प्रशिक्षण दिइने बताईन् । उनका अनुसार तालिममा समूहमा आवद्ध समूहका गरी २५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको सहजीकरण सीता वलीले गरेकी छन् । यस्तै तालिम भेरीगंगा नगरपालिकामा पनि हुने संयोजक वलीले जानकारी दिइन् ।