जाजरकोट बस दुर्घटनाका घाइते भन्छन्, ‘यात्रुले बाबै–आमै बस छत्तिगो भनेपछि ब्युझिएँ’

घाइते गणेश नेपाली

जाजरकोट । “म निदाएकै थिएँ ।  बसको पछाडिको सिट नं ११ र १२ मा मेरो भाई प्रचण्ड र म । १० र ११ नं सिटमा मेरी आमा र बा अनी ८ र ९ नं सिटमा मेरा दुई बहिनीहरु बसेका थिए । हामी ६ जनाको परिवार एउटै टेबुलमा बेलुकीको खाना खाएर आ–आफ्नो सिटमा बसेका थियौँ ।

बस आफ्नै गतिमा थियो । नेपालगंजबाट करिब साढे पाँचबजे छुटेको बस केहिबेर कोहरलपुरमा आएर रोकियो । चालक र यात्रुले कोहलपुरमा केहि युवाहरुसंग झगडा पनि गरे । त्यसपछि गन्तव्यतर्फ तिव्र गतिमा गुडेको बस सुर्खेतको छिन्चु बजारमा आएर रोकियो र खाना खुवायो ।

घाइते गणेश नेपालीकी बहिनी गीता नेपाली

खाना खाँदा करिब नौ बजेको थियो होला । त्यसपछि बस आफ्नै गतिमा हुईकियो । बसमा रहेका प्राय पुरुष यात्रुहरुले मदिरा सेवन गरेका थिए । चालकले पनि खाएको हुनुपर्छ साहेद । बसको हल्ला सहिनसक्नु थियो ।

बस पल्टिएला र यसरी परिवारकै बिचल्ली होला भन्ने मैले सोचेकै थिएन । एकवर्षअघि भारतको सिम्लामा मजदुरीका लागि गएको थिएँ । ठुलीबहिनी अनिला नेपाली बिरामी भएपछि उपचारको लागि आमा–बा, दुईबहिनी र भाई मसंग जानुभएको हो ।
आमा–बा मसंग भारत गएको चारमहिना भएको थियो । बहिनीलाई उपचार गरेपछि निको भयो अब नेपालमै केहि गर्नुप¥र्यो भनेर म पनि आमाहरुसंगै नेपाल फकिएको हुँ । हामीहरु गत ८ गते सिम्लाबाट हिँडेका हौं ।

घाइते गणेश नेपालीका भाई प्रचण्ड नेपाली

छिन्चुबाट हिँडेको बसले बिच–बिचमा केहि यात्रु झार्दै आयो । तर हामीहरु भने मस्त निन्द्रामै थियौं । भेरीनगरपालिका वडा नं १३ बराहचौरमा बस पल्टिएछ । बस करिब २० मिटर तल खसिसकेछ यात्रुहरुले ‘आमै–बाबै बस छत्तिगो’ भनेपछि मेरो निन्द्रा खुल्यो ।

चोट कहाँ कती लागेको थियो केहि थाहा पाइन । मलाई मेरो परिवारकै चिन्ता भयो । यताउता हेरेँ आमा, म र ठुली बहिनी बसभित्रै च्यापिएका थियौं । सानीबहिनी , भाई र बुवा बसबाट छत्तिसकेछन् (खसीसकेछन्) ।

म बेहोशीमै थिएँ ठुलीबहिनीको खुट्टा बसमै च्यापिएको थियो । मैले तान्न खोजेँ सकिन त्यसपछि मपनि बेहोश भएछु ब्युझिँदा जिल्ला अस्पताल जाजरकोटको आकस्मीक कक्षमा थिएँ ।

घाइते गणेश नेपालीकी आमा देवीसरा नेपाली आइसियूमा

ठुली बहिनी अनिला नेपालीको मृत्यु भइसक्यो रे । उसैलाई उपचार गरेर ल्याएको हो । बुवा र आमा आइसियूमा  हुनुहुन्छ । हेलिकप्टरबाट बाहिर लैजाने तयारी छ । म, भाई र सानी बहिनी नजिक–नजिक बेडमा छौँ । भाईको अझै होस् आएको छैन । ”
जिल्ला अस्पताल जाजरकोटको आकस्मीक कक्षमा उपचार गराइरहेका कुशे गाउँपालिका ९ पैक जाजरकोटका २० वर्षीय गणेश नेपालीले सोध्न नभ्याउँदै जाजरकोट बस दुर्घटनाको बारेमा एकहोरो बताए ।

टाउकोमा गम्भिर चोट लागेपनि त्यो भन्दा ठुलो चोट बहिनी गुमाउँदाको पिडा उनले पोखे । १८ वर्षीय अनिला नेपालीको ज्यान बस दुर्घटनामा गयो ।

 

घाइते गणेश नेपालीका बुवा विरबहादुर नेपाली

परिवारको आर्थिक अवस्था कमजोर छ । जसलाई बचाउँला भनेर भारतसम्म उपचारको लागि लगेका थियौं उसैलाई गुमाउनु पर्‍र्यो  । आमा–बा र भाईलाई कस्तो हुने हो थाहै छैन ।
रातीको समयमा गाडि चलाउन अनुमती नदिएपनि हुन्थ्यो । बाटो सजिलो छैन । दुर्घटना बढ्नुमा सरकारको ठुलो कमजोरी छ  ।

(जारकोट बस दुर्घटनामा घाइते भएका गणेश नेपालीसँगको कुराकानीको आधारमा )