
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले हिन्दुहरुको महान पर्व विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुखः शान्ति, सुस्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
प्रदेश प्रमुख कलौनीले विज्ञप्तिमार्फत बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विजया दशमीलगायतका चाडपर्वहरुले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्दै समाजिक एकता थप बलियो बनाउने पनि बताए । उनले चाडपर्वहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व रहेको पनि जोड दिए ।
विजया दशमी असत्य माथि सत्यले विजय हासिल गरेको दिनको उपलक्ष्यमा विजयको प्रतीक स्वरूप मान्यजनको हातबाट टीका, जमरा, फूलपाती र आशीर्वाद ग्रहण गर्ने गरिने उल्लेख गर्दै सांस्कृतिक महत्व बोकेका चाडपर्वहरूलाई देखावटी पनमा जोड नदिई मौलिकता जोगाइ राख्ने ढंगले मनाउन पनि उनले आग्रह गरेका छन् ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिम अझै पनि रहिरहेकाले स्वास्थ्य मापदण्ड पालना गरी विजयादशमी पर्व मनाउन पनि उनले आह्वान गरेका छन् ।

फरकबाटो २९ आश्विन २०७८, शुक्रबार ०८:२६