जाजरकोट बस दुर्घटना : मृतक सबैको सनाखत

सुर्खेत । जाजरकोटमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।

बाँकेको नेपालगञ्जदेखि  जाजरकोटको कालिमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस राति साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बाराचौरमा दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही रहेका छन् ।

यस्तै सप्तरीका ४० वर्षीया गंगाराम यादवको दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाउने तयारी भइरहेको छ ।