कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन (नवौं अधिवेशन) सुरु भएको छ । बैठकमा प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन आव्हान सम्बन्धी पत्र वाचन गरेर सुनाउने, दलीय धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पेश हुने कार्य सूचि रहेको छ ।

सचिवालयका अनुसार हालसम्म प्रदेशसभा सचिवालयमा हालसम्म दर्ता भएका ५७ वटा विधेयक छन् । त्यस मध्ये प्रदेशसभाबाट ३६ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् । विषयगत समितिमा चार वटा मध्ये तीन वटा विधेयक छलफल भइ प्रदेश सभा बैठकबाट पारित हुन बाँकी रहेको प्रदेशसभा सचिवालका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार चार वटा विधेयक यस अघि नै प्रदेशसभा बैठकमा टेबुल भएको र छलफल बाँकी रहेका छन् । पछिल्लो समय प्रदेशसभा दर्ता भएका नौ वटा विधेयक प्रदेशसभा बैठकमा टेबुल हुन बाँकी छ । प्रदेशसभामा दर्ता भएका पाँच वटा विधेयक फिर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।