प्रहरीका १७ डीआईजी र २७ एसएसपीको सरुवा


सुर्खेत । नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायब महानिरीक्षक (डीआईजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डीआईजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ पठाइएको छ । उनको ठाउँ प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा कणाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट पोषराज पोखरेललाई ल्याइएको छ ।

विशेष ब्युरो नक्सालमा रहेका अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा गरिएको छ । यस्तै प्रहरी प्रधान कार्यालयमा रहेका वसन्तबहादुर कुँवरलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयमा रहेका दीपक थापालाई बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पठाइएको छ भने उनको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालयबाट किरण बज्राचार्यलाई ल्याइएको छ । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयबाट भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट डीआईजी दुर्गा सिंहलाई प्रदेश समन्वय विभाग नक्सालमा ल्याइएकामा अहिले प्रहरी शिक्षालय भरतपुर चितवनमा काज सरुवा गरिएको छ ।

शुक्रवार नै गृहमन्त्रीस्तरीय निर्णयअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट एसएसपी दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौ ल्याइएको छ । परिसरका प्रमुख भरतबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा खटाइएको छ ।

प्रहरी प्रधान कार्यालमा रहनुभएका डा मनोजकुमार केसीलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको छ । यस कार्यालयका प्रमुख जनक भट्टराईलाई भने प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालयबाट सुशीलसिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्रमा पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका लालमणि आचार्यलाई ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालयबाट जीवनकुमार श्रेष्ठलाई बबरमहलमा रहेको मानवबेचविखन अनुसन्धान ब्युरोमा पठाइएको छ भने ब्युरोका अनुरागकुमार द्विवेदीलाई अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा गरिएको छ ।