नेपालले म्यानमारलाई ३ लाख ५० हजार डलर सहयोग गर्‍यो


सुर्खेत । नेपाल सरकारले म्यानमार सरकारलाई ३ लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ । गएको मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यानमारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि नेपालले सहयोग गरेको हो ।

म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्मारको महामुनी पगोडा परिसरमा आज आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई ३ लाख डलरको चेक हस्तान्तरण गरेका हुन् । साथै उनले गङ्गाघाट हिन्दू मन्दिरको पुनर्निर्माणका लागि ५० हजार डलरको चेक मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरेका छन् ।

गङ्गाघाट मन्दिर म्यान्मारमा बसोबास गर्ने नेपाली समुदायको महत्त्वपूर्ण धार्मिकस्थल हो ।