
सुर्खेत । सुरक्षित गर्भपतनका बारेमा सचेतना अभिबृद्धि गर्न आबश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । बियोण्ड बेइजिङ्ग कमिटिको सहयोगमा सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा सहभागिले अझै पनि ग्रामीण स्तरमा सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी नभएको भन्दै सचेतना कार्यक्रम आवश्यक रहेको बताएका हुन् ।
उनीहरुले यस सम्बन्धी जानकारीको अभावमा महिलाहरुले असुरक्षित रुपमा गर्भपतन गराईरहेको हुनाले धेरै जसो पाठेघर तथा प्रजनन स्वास्थ्यमा समस्या देखिने गरेको बताए ।
बिद्यालय, आमा समुह, महिला समुह जस्ता ठाउँहरुमा नियमित रुपमा सचेतना मुलक कार्यक्रम गर्न सके प्रभावकारी हुनेमा उनीहरुको जोड रहेको थियो ।
कार्यक्रममा सहभागि वी.न.पा १२ की मिना कुमारी ढकालले यस्ता किसिमका सचेतना मुलक कार्यक्रम प्रभावकारी रहेको भन्दै गाउँ गाउँका महिलाहरुलाई पनि समेट्न जरुरी रहेको बताइन् ।
‘कहाँ गर्भपतन गराउँदा सुरक्षित हुन्छ, भन्ने नै कतिपय महिलाहरुलाइ थाहा छैन्, वी.न.पा १० की रफितुन खानले भनिन, “त्यसैले सुरक्षित गर्भपतन सेवामा पहुँच बृद्धि गर्न पहिला त सचेतना नै जरुरी देख्छु । ”
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मी बिष्णु गुरुङ्गले सुरक्षित गर्भपतन के हो ? कहाँ कहाँ सेवा उपलब्ध छ, किन सुरक्षित गर्भपतन गराउन आबश्यक छ, कानुनी प्राबधानहरु के के छन् र व्यवहारिक समस्याहरु के कस्ता छन भन्ने बिषयमा सहजिकरण गरेकी थिइन् ।
वाम संस्थाकी कार्यकारी निर्देशक मधुरानी ढकालले सुरक्षित गर्भपतनमा अधिकार कार्यक्रम अन्तर्रगत बिद्यालयमा बिद्यालय बाहिर सचेतनामुलक कार्यक्रमहरु भईरहेको जानकारी दिइन् ।

फरकबाटो ३ कार्तिक २०७९, बिहीबार १८:३१