
सुर्खेत । जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । नेपालगंजदेखी जाजरकोटको कालिमाटितर्फ जाँदैगरेको बस भेरीनगरपालिका १३ बराहचौरमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ना ६ ख २७५७ नंको बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । ३३ संख्या यात्रुसवार बस शनिबार राती करिब साढे दुईबजेको समयमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा नलगाड नगरपालिका ३ करुवा जाजरकोटका शेरबहादुर परियार, आठबिसकोट ४ रुकुमपश्चिमकी चारवर्षीय विद्या शाही र राजबिराज नगरपालिका १ सत्तरीका ४० वर्षीय गंगाराम यादव रहेका छन् ।
दुर्घटनामा परि मृत्यु भएका तिनजनाको सनाखत भएपनि बाँकी दुईजना महिलाको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएस्पी मधुकुमार थापाले जानकारी दिए ।
बस चालक नेपालगंज उप–महानगरपािलका ४ बाँकेका ४६ वर्षीय चित्रबहादुर देलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

फरकबाटो १२ मंसिर २०७८, आईतवार ०८:०६