बादी समुदायका बालबालिकाका लागि निशुल्क स्वास्थ्य शिविर

सुर्खेत । बादी समुदायका बालबालिकाका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वीरेन्द्रनगर जेसीजको आयोजनामा शनिबार स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

बादी सरोकार मञ्च नेपालले संरक्षण गरेका १ सय २६ बालबालिकासहित अन्य बालबालिकाको शिविरमा चेकजाँच गरिऔषधी वितरण गरिएको हो ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश, स्वास्थ्य सेवा कार्यालय सुर्खेत र कर्णाली हाइजिन मार्टको औषधी सहयोग तथा समन्वयमा शिविर सञ्चालन गरिएको कार्यक्रम संयोजक महेन्द्र कुमार थापाले जानकारी दिए ।

उनका अनुसार बादी सरोकार मञ्चमा रहेका बालबालिकालाई रुघा र ज्वरो आउने समस्या भएको र चेकजाँच गरी औषधी वितरण गरिएको हो ।

कार्यक्रम वीरेन्द्रनगर जेसीजका अध्यक्ष शैलेन्द्र पाठकको अध्यक्षता तथा वर्ष २०२० का अध्यक्ष शिवराज पुरीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

शिविरमा बालरोग विशेषज्ञ डा.सुवास शर्मा, डा. रबी कार्की र डा. नजरा थापाले बालबालिकाको चेकजाँच तथा उपचार गरेका थिए ।