विश्वविद्यालय परिसरमा वृहत वृक्षारोपण


सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । आज कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको विशेष आथित्यता र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमको अध्यक्षतामा “२०२४ सालमा २०२४ विरुवा” भन्ने मूल नाराका साथ मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा वृहत वृक्षारोपण गरिएको हो ।

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कर्यालयद्वारा आयोजित उक्त कार्यक्रमको विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसरमा विरुवा रोपेर मुख्यमन्त्री कँडेलले उद्घाटन गरेका हुन् ।

सोही अवसरमा बोल्दै कँडेलले पर्यावरण जोगाउन र हरियाली बढाउन गरिएको यस कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन समेत गरेका थिए ।

वृक्षारोपण लगत्तै विशेष कुइनेपानी स्थित विश्वविद्यालय परिसरको अवलोकन भ्रमण गर्नुका साथै उक्त क्षेत्रको सदुपयोग गर्दै सम्भावित पूर्वाधार तथा विकास निर्माणका सम्बन्धमा छलफल समेत गरिएको थियो ।

उक्त वृहत वृक्षारोपण कार्यक्रम विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक, कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, पत्रकार , सर्वसाधारणको सहभागिताका रहेको थियो ।