करार कर्मचारीको बाहानामा काँग्रेस दैलेखको राजनितिक प्रतिशोध


सुर्खेत ।गुराँस गाउँपालिका दैलेखमा करार कर्मचारीहरुको बाहानामा नेपाली काँग्रेस दैलेखले राजनितिक प्रतिशोध साँधेको छ । करार कर्मचारीहरुको बाहानामा काँग्रेस नेतृत्वले आन्दोलन गरी कार्यालय तोडफोड र ढुङ्गामुढा गरेको हो ।

सेवा करारमा रहेका कर्मचारीहरुको दरबन्दी नविकरण नगर्ने विषयमा गत असार २९ गते गाउँसभाबाट निर्णय भएपछि आँफुहरुलाई पुर्नस्थापना गर्नुपर्ने माग राख्दै कर्मचारीहरुले शान्तिपुर्ण आन्दोलन गरिरहेका थिए ।

गत शुक्रबार समेत सोही विषयमा समन्वय गर्न दैलेख जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइराला आएकै समयमा नेपाली काँग्रेस दैलेखका पुर्व सभापती कृष्ण वि.सी तथा नेपली काँग्रेसका जिल्ला सचिव खेमराज वलीको नेतृत्वमा आएका पार्टी कार्यकर्ताहरुले कार्यालय तोडफोड गरेको गाउँपालिकाका प्रवक्ता दिपेन्द्र वलीले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी सहित गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सी, उपाअध्यक्ष शिवाकुमारी खड्का लगाएत कर्मचारीको नेतृत्वसंग छलफल भई सहमतीमा पुगेपछि बाहिरबाट एक्कासी ढुङ्गामुढा भएको हो ।
गाउँपालिकाका सेवा करारमा रहेका दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारीहरुको आक्रमणबाट गाउँ पालिकाको भवनमा ठूलो क्षति पुगेको छ । गाउँपालिकाको माथि डाँडाबाट कर्मचारहिरुले ढुंगा वर्साउदा कार्यालयको छाना दबेका छन् भने गाउँपालिका अध्यक्ष टोपबहादुर विसीको कार्यकक्षमा समेत क्षति पुगेको छ ।

करिब ६०० भन्दा बढि आन्दोलनकारीहरुको नेतृत्व पूर्व गाउँपालिका अध्यक्ष एवम नेपाली काँग्रेसका जिल्ला सचिव खेमराज वली, पूर्व जिल्ला सभापति कृष्ण विसी लगायतको नेतृत्वमा आन्दोलनमा उत्रिएको उच्छृंखल समुहले आक्रमण गरेका थिए ।

स्थानीय मिना महतराका अनुसार गाउँपालिकाका करार कर्मचारी भन्दा पनि नेपाली काँग्रेसका कार्यकर्ता तथा नेताहरुले राजनितिक प्रतिशोध साँधी गाउँपापालिकामा ढुङ्गामुढा गरेको बताईन् ।

उनले नेपाल प्रहरीले आन्दोलनलाई शान्तिपुर्ण तरिकाले गर्न सुझाउँदा समेत नमानी प्रहरीलाई घाईते बनाएको र सहायक प्रमुख जिल्ला अधिकारी र गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै थुनेर ढुङ्गामुढा गरेको बताईन् ।

कार्यालयमा आन्दोलन भएपछि सुरक्षाको नेतृत्व गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएका प्रहरी निरीक्षक नरेश वि.कले आन्दोलनको प्रकृति हेर्दा राजनितिकरण भएको बताए ।

उनले कर्मचारी भन्दा पनि राजनितिक दलको नेतृत्व नै आन्दोलनमा सहभागी भएर ढुङ्गामुढा गर्न उक्साएको जानकारी दिए । आन्दोलनरत कर्मचारीहरुले नै आन्दोलनमा कर्मचारी नभई कार्यकर्ता भएको बताएको र स्थिती नियन्त्रणमा लिन आग्रह गरिहेको सुनाए ।

यता गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गुराँसमा करार कर्मचारीहरुको आन्दोलन नभई नेपाली काँग्रेसको आन्दोलन भएको बताए । उनले कर्मचारीसंग सहमती हुँदाहुँदै गाउँपालिकाका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसका सचिव खेमराज वलीले कार्यकर्ता लिएर निर्वाचनमा हारेको बदला लिन कार्यालय तोडफोड गर्न लगाएको आरोप लगाए ।

‘म र सहायक प्रमुख जिल्ला अधिकारी ज्यु मेरै कार्यकक्षमा छौं’ उनले भने “ कर्मचारी नेताहरुसंग सहमती भएर बाहिर निस्कन नपाउँदै काँगे्रस कार्यकर्ता तथा नेताहरुले कार्यालयमा ढुङ्गामुढा गर्न सुरु गरे ।”

उनका अनुसार यसरी कर्मचारीहरुको विषयलाई राजनितिकरण गरेर अवस्थालाई नियन्त्रणबाहिर लैजाने कुरामा गाउँपालिकाका पुर्व अध्यक्ष को हात रहेको र आँफैले पाँचवर्ष नेतृत्व गरेको गाउँपाकिलाको कार्यालय तोडफोड गर्न लगाउने कार्य खेदजनक भएको बताए ।

उनले आँफुहरुले कर्मचारीहरुलाई नहटाई कर्मचारीले नै गरेको करार सम्झौतालाई कार्यान्वयन गरेको बताउँदै कर्मचारीलाई परेको पिरमर्काका विषयमा छलफल गर्दा गर्दै गोली चलाउनुपर्ने अवस्थासम्म आन्दोलनको रुप परिवर्तन गरिएको बताए ।

सार्वजनिक सम्पत्तिलाई तोडफोड गर्नेहरुलाई कानुन बमोजिमको कार्रवाहिको दायरामा ल्याउने प्रक्रियामा गाउँपालिका जाने उनले सुनाए ।

अध्यक्ष वि.सीले आन्दोलनकारी कर्मचारीहरुले आँफुहरु करिब ३ सय भएको बताएपनि गाउँपाकिलामा ५० भन्दा बढी कर्मचारीको फाईल नभएको बताए ।

गाउँपालिकाको आर्थिक व्ययभार घटाउन करार कर्मचारी हटाई स्थायी कर्मचारी ल्याउने तयारी भएको र केही कर्मचारी आइसकेको जानकारी उनले दिए ।

सहायक प्रमुख जिल्ला अधिकारीलाई समेत कोठाभित्रै थुनियो

गुराँस गाउँपालिकाको करार कर्मचारीको विवादमा समन्वय गर्न आएका दैलेख जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालालाई समेत गाउँपालिकाका अध्यक्षकै कार्यकक्षमा थुनिएको अध्यक्ष बि.सीले बताए ।

‘सहायक सिडियो साव समेत संगै हुनुहुन्थ्यो’ उनले भने “हुल कार्यालय भित्रै पस्न थालेपछि र अध्यक्षको कार्यकक्षमा बसेको प्रहरी नै घाइते भएपछि गोली हान्ने आदेश सिडियो कार्यालयबाटै आएको हो ।”

सुर्खेत–दैलेख सडकखण्डमा गाडी तेर्साइयो

करार कर्मचारीहरुको आन्दोलनको बाहानामा नेपाली काँग्रेस दैलेखका नेतृत्वहरुले गुराँस गाउँपालिका दैलेखको कार्यालय अगाडीको सुर्खेत–दैलेख सडक खण्डमा बोलेरो गाडी तेर्साएर सर्वसाधारणलाई समेत आवतजावतमा रोक लगाएका थिए ।

स्थानिय मिना महतराका अनुसार नजिकै रहेको प्रहरी कार्यालयबाट प्रहरीलाई जान नदिने र पालिकाको भवनमा रहेका कर्मचारी तथा सहायक सिडियोलाई समेत भित्रै थुनेर ढुङ्गामुढा गरिएको हो ।

यस्तै प्रहरी निरीक्षक नरेश वि.कले समेत गुराँस गाउँपालिका ३ बाट निर्वाचनमा पराजित भएका वडा अध्यक्ष केशब खत्रीको उक्त गाडीलाई नियन्त्रणमा लिएर राखिएको बताए ।

एकै पदमा फरक –फरक तलब

गाउँपाकिलाका अनुसार एकै पदमा रहेका कर्मचारीमा पनि सेवा सुविधा वितरणमा मनलाग्दी गर्ने गरिएको पाइएको बताए । उदाहरणका लागि नौ जना कार्यालय सहयोगी पालिकामा नियुक्त गरिएको रहेछ । एक जनाले मात्रै काम गर्दै आइरहेका छन् । यहाँ कसैको १४ हजार तलब, २४ हजार, ४८ हजार, ३२ हजार एकै पदमा रहेका कर्मचारीहरुको फरक फरक तलब भएको र उनीहरुको फाईल समेत कार्यालयमा नभएको उनले बताए ।

कार्यालयमा गरिएको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै अध्यक्ष टोप बहादुर विसीले आन्दोलनकारीले कार्यकक्षमै थुनेको बताए । बाहिर व्यपाक हल्ला भइरहेको थियो । कार्यकक्ष भित्रबाट बाहिर निस्कन दिइएन । पानी पिउन समेत बन्द गराइयो । उनले भने, गाउँपालिकाको विकास निर्माण गर्ने बारेमा हामी छलफलमै थियौं । करारकका कर्मचारीले राखेका मागहरु प्रति सकारात्मक नै थियौं ।

यहाँ विगतमा भए गरेका काम, विकास निर्माणसँग सम्वन्धित, कर्मचारीका व्यक्तिगत फाईल समेत भेटाएनौं । करारका कर्मचारीलाई काम गराउँदा मनलाग्दी गरेको पाइयो । चाहिने भन्दा बढि कर्मचारी राखेको पाइयो । १५० जना कर्मचारी रहेको पुष्टि भएको  उनले बताए ।

कार्यालय सहयोगीको नियुक्ति, सुब्बाको परिचयपत्र

कार्यालय सहयोगीको नियुक्ति पाएकाहरुले नासु अधिकृत तहका परिचयपत्र बोकेर हिडने गरेको पाइएको अध्यक्ष विसिले बताए । उनले कार्यालयमा थुप्रै बेथिती भएको र यसलाई सुधार गर्नुपर्ने भएकोले आँफुहरुले सोही अनुरुप कदम चाल्ने उनले सुनाए ।

स्थानिय सरकार सञ्चालन ऐन अनुसार नै आँफुहरुले कर्मचारी भर्ना गर्नु परेपनि सोही अनुसार गर्ने उनले बताए ।

कार्यालय तोडफोडको विषयमा थप बोल्दै उनले विहान आठ बजेदेखि नै ज्ञापनपत्र बुझ्न भनेर कार्यालयमा आएको बताउँदै उनले गाउँ सभाले गरेको निर्णय कार्यान्वयन गर्नेपर्ने बाध्यता रहेको बताएपनि कर्मचारीहरुले अटेर गरेको बताए । उनले त्यसपछि काँग्रेसका गुराँस सभापति चन्द्र प्रसाद भट्टराई समेत आएर ज्ञापनपत्र बुझाएको बताए ।

उनले जनप्रतिनिधिमाथि सांघातिक हमला गरिएको, सुरक्षाकर्मीमाथि वियरको बोत्तलले प्रहार गरिएको बताउँदै मार्ने योजना अनुरुप आक्रमण भएको उनले दाबी गरे । उनका अनुसार सेवाग्राही कार्यालय, स्तनपान कक्षा, दर्ता चलानी, लेखा शाखा,

सभाहल तोडफोड भएको बताए । यसको क्षतिको कुनै हिसाब गर्न नसकिने उनको भनाई थियो ।

कार्यपालिकाको वैठक राखेर राय सल्लाह लिएर बाँकी प्रक्रिया अनुसार अघि बढने उनको भनाई थियो ।