मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्छ : अध्यक्ष ओली

फाइल : तस्बिर

सुर्खेत । सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार हुन अझै १०र१५ दिन लाग्न सक्ने सङ्केत गरेका छन् । अध्यक्ष ओलीले खेलकुदमन्त्री अहिले नभएको प्रसङ्ग उल्लेख गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज आइतवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रहसमेत गरेका छन् । खेल क्षेत्रलाई सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै नयाँ खेलकुदमन्त्रीलाई पनि आफूले खेल क्षेत्रको विकासमा ध्यान दिन आग्रह गर्ने बताए ।

अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएर अघि बढेका कारण पेले विश्वका सर्वाधिक लोकप्रिय फुटबल खेलाडी भएको भन्दै त्यसबाट सिकेर नेपाली खेलाडीले पनि आफूलाई अगाडि बढाउनुपर्ने धारणा राखे । सोही अवसरमा उनले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई अक्षय कोष स्थापना गर्न ढिलाइ नगर्न आग्रह गर्दै आफूले दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् ।