एमसीसी पारित पछि गठबन्धन र सरकार सुरक्षित भएको छ : प्रचण्ड


सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमसीसी संसदबाट पारित भए पछि गठबन्धन र सरकार दुवै सुरक्षित भएको बताएका छन् । पार्टीको प्रशिक्षणको लागि वीरेन्द्रनगर आएका अध्यक्ष प्रचण्डले सुर्खेत विमान स्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमसीसी पारित नभए गम्भिर प्रकृतिको असर पर्ने र देश दुर्घटनामा जाने खतरा रहेकोले १२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित गरेर देश दुर्घटना हुनबाट जोगाएको बताए ।

‘संसदबाट १२ बुँदे ब्याख्यात्मक घोषणासहित पारित भएको एमसीसी दिर्घकालिन किसिमले नेपालको राष्ट्रिय एकतालाई सुदृढ गर्ने प्रकृतिको छ’ उनले भने, ‘यसलाई अमेरिकाले समर्थन गरेसके पछि अझै महत्व बढ्दै गएको छ । यसले गर्दा गठबन्धन पनि सुरक्षित भएको छ । सरकार सुरक्षित भएको छ । निर्वाचनसम्म वा अझै परसम्म गठबन्धन जाने बाटो खुलेको छ । देश दुर्घटनामा जाने धेरै कुरा टरेको छ । नेपालीका लागि यो खुशीको कुरा हो ।’

उनले एमसीसी पारित भए पछि माओवादी केन्द्र भित्र देखिएका मतभेद् तथा समस्या समधान भइसकेको बताए ।