अदालतको गरिमा राख्न प्रधानन्यायाधीशलाई पत्रकार महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासंघले अदालतको गरिमाको रक्षा गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आग्रह गरेको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गर्दै महासंघले प्रधानन्यायाधीश जबराको नाम उल्लेख नगरी जिम्मेवार बन्न न्यायालय नेतृत्वलाई आग्रह गरेको हो ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ नेपाल बार एशोसिएसनले उठाएका सवालहरू र नागरिक तहबाट उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई हार्दिक आग्रह गर्दछ ।’

मुलुकको संवैधानिक निकाय सर्वोच्च न्यायालयमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चार्यजनक मौनताप्रति पनि महासंघले चासो प्रकट गरेको छ ।