आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड


सुर्खेत । आँखा पाक्ने रोग फैलिएपछि अस्पतालमा बिरामीको भिड बढ्न थालेको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशभरका आँखा अस्पतालमा बिरामीको चाप बढेको छ । काठमाण्डौको आँखा अस्पताल त्रिपुरेश्वरमा दैनिक झण्डै एक सय जना बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

काठमाण्डौ उपत्यकाका अरु अस्पतालसँगै विभिन्न जिल्लाका अस्पतालमा पनि बिरामीको भिड छ । पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या देखिने गरेको हो । हरेक वर्ष मनसुनको समय आँखामा यस्ता समस्या देखिन्छन् । यो सरुवा रोग हो ।

सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखाको समस्या देखिएको पाइएको छ । त्यसैले आँखा पाक्ने समस्या भएको व्यक्तिको रुमाल प्रयोग नगर्न र सिधै बिरामीको आँखामा नहेर्न डाक्टरहरुको सुझाव छ । आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यो दीर्घकालीन समस्या होइन ।

डाक्टरका अनुसार सामान्यतयता यो रोग एकदेखि दुई हप्ताभित्र निको हुन्छ । तर, सावधानी नअपनाए, जथाभाबी औषधिको प्रयोग गरे दृष्टि नै गुम्ने खतरा हुन्छ ।

आँखा पाक्ने रोगबाट बच्न धुवाँधुलोबाट जोगिन, घरबाहिर जाँदा घामबाट जोगिनको लागि चश्मा लगाउन, मन तातोपानीले बिहान बेलुका सफा गर्न र प्रशस्त मात्रामा पानी पिउन डाक्टरको सुझाव छ ।