कालीकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

सुर्खेत । मुगुबाट सुर्खेतका लागि छुटेको भे १ च ४४१२ नम्बरको जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जीप दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश प्रहरी कायार्यलय सुर्खेतले जानकारी दिएको छ । मृत्यु हुनेमा मुगु गमगढी बस्ने २१ बर्षका अकल विक, छायानाथ रारा नगरपालिकाका १८ बर्षका रमेश बुढा र सुदर्शन सेजुवाल रहेका छन् ।

यस्तै दुर्घटनामा सात जना घाइते भएका र उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मुगु छायानाथका १७ वर्षिय धिरज बुढा, १६ वर्षिय गोबिन्द चन्द बुढा, ३५ वर्षिय प्रेमसिंह बडुवाल (चालक), १४ वर्षकी सोबिना बडुवाल, २१ वर्षिय सन्तोष शाही, २२ वर्षकी केसरी शाही, हुम्ला चंखेलीका २४ वर्षिय उज्वल सिंह ठकुरी रहेका छन् । प्रहरीका अनुसार घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।