पानीजहाज निर्माणमा सहभागी परीक्षार्थीले उत्पादनशील क्षेत्रमा फारम भर्ने समय २ दिन थप


सुर्खेत । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले पानीजहाज निर्माण अर्थात् शिप बिल्डिङु क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ । आज मङ्गलवार बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप भएको विभागले निकालेको सूचनामा उल्लेख छ ।

यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ देखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो । नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन् ।

विभागले पुस १३ गते ललितपुर महानगरपालिका–७ बालकुमारीमा भएको घटनामा दुई जनाको ज्यान गएको र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुनसक्ने देखिएको तथा फारम भर्न शुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरेको जनाएको छ ।