शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाण्डौ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको १ सय ३ वर्षको उमेरमा बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । जोशीको छातीमा निमोनिया सङ्क्रमण देखिएको थियो । निमोनिया र मुटुरोगसँगै पछिल्लो समय डेङ्गी सङ्क्रमण देखिएपछि जोशी २४ दिनदेखि उपचारत थिए ।

स्वास्थ्य अवस्था केही सुधार भएपछि गएको बुधवार आईसीयूबाट क्याबिनमा सारिएकोमा उनलाई फेरि आईसीयूमै राखेर उपचार हुँदै आएको थियो । ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाखमा जन्मिएका जोशी संस्कृतिविद् हुन् । उनी तीन पटक मदन पुरस्कार पाउने एक्लो व्यक्ति हुन् ।

‘लोक संस्कृति’ नामक पुस्तकले २०१३ सालमा मदन पुरस्कार पाएको थियो । त्यस्तै ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि दोस्रो पटक र ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि तेस्रो पटक मदन पुरस्कार पाउनुभयो । जोशी पुरातत्त्व विभागका पहिलो निर्देशक थिए ।

२०१५ सालमा पुरातत्त्व विभागको निर्देशक हुँदा उनी ३८ वर्षको थिए। उनका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पनि सत्यमोहन जोशी पहिलो व्यक्ति मानिन्छन् । उनले ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गरेका थिए ।