
सुर्खेत । रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा वि.स. २००० सालमा जन्मिएका तिलक परियार नेकपा माओबादी केन्द्रका पार्टी केन्द्रिय सदस्य हुन् । बुवा हस्तबहादुर परियार र आमा भक्तिदेवी परियारको कोखबाट जन्मिएका उनले प्रारम्भिक शिक्षा रोल्पाकै बाल कल्याण माध्यामिक विद्यालय लिवाङमा प्राप्त गरेका हुन् ।
उच्च शिक्षाका लागि बनारस गएका उनले राजनीतिक यात्राको सुरुवात समेत त्यहिबाट गरे । २०२१ सालमा बनारस छिरेका परियारले पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेकपाको सदस्यता लिई संगठित सदस्यको रुपमा राजनीतिक यात्रा सुरु गरेका हुन् । २०२९ सालसम्म सोही पार्टीमा रहेका उनी २०३२ सालमा नेकपा (चौम) मोहन विक्रम मार्फत प्रवेश गरि दिल्ली –फरिदावाद जिल्ला समितीको सचिव भएर काम गरे ।
राजनीतिक यात्रासंगै दलित आन्दोलनमा समेत सक्रिय परियार २०२९ सालमै दलितजन विकास परिषद्को पहिलो सचिव भएर काम गरे । २०४२ सालमा मोटो मशालमा कार्यरत रहेका उनी २०४७ सालमा मशाल, चौम र सर्वहारबादी श्रमीक संगठन मिलेर बनेको नेकपा एकता केन्द्रमा रहेर काम गरेका हुन् ।
नेकपा एकता केन्द्रको फुटपछि स्थापित नेकपा माओबादी केन्द्रमा आवद्ध भएर उनी २०५२ साल फागुन १ देखी सुरु भएको जनयुद्धमा समेत सहभागी भए । परियारले २०६२÷०६३ सालको जनआन्दोलनमा महत्वपुर्ण भुमिका निभाएका हुन् । उनी २०६४ सालको संविधानसभाको निर्वाचनमा बाँके क्षेत्र नं १ बाट निर्वाचित सभासद हुन् ।
दलित मुक्ति मोर्चाको २०५८ सालदेखी २०७६ सालसम्म निरन्तर अध्यक्ष भई काम गरेका उनी प्रदेश नं २ का प्रदेश प्रमुख समेत भईसकेका हुन् । उनी २०७६ कात्तिक १८ गते प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए । हाल कर्णाली प्रदेशमा सरकार फेरबदलपछि उनी प्रदेश प्रमुखको रुपमा नियुक्त भएका हुन् । हाल कोहलपुर नगरपालिका १२ बाँकेमा स्थायी बसोबास गर्दै आएका उनी कर्णालीको प्रदेश प्रमुखमा गत २३ गते नियुक्त भएका हुन् ।
शुक्रबार उनले पदबहाली गरेका छन् । उनलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही, सभामुख राजबहादुर शाही लगाएतले स्वागत गरेका हुन् । पदबहालीपछि बोल्दै प्रदेश प्रमुख परियारले कर्णालीको हितबिपरित काम नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सीता वली २६ कार्तिक २०७८, शुक्रबार २२:०७