राष्ट्रपति निर्वाचन : एमालेले आफ्ना सांसदलाई गरायो अभिमुखीकरण


सुर्खेत । नेकपा (एमाले)ले राष्ट्रपति निर्वाचनबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदलाई अभिमुखीकरण गराएको हो ।

अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए । उनले राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित भएको बताए । उनले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताए ।

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा निर्वाचित भए पनि पहिलो दायित्व संविधानको रक्षा गर्ने बताए । अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवद्वय गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी लगायतको नेताहरूको सहभागी थियो ।

एमालेले राष्ट्रपतिमा नेम्वाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।