
सुर्खेत । प्रदेश सभा सामाजिक विकास समिति अनुगमनका लागि मेहेलकुना अस्पतालमा पनि पुगेको छ । डेङ्गी संक्रमणको अवस्था र यसअघि दिएको निर्देशनको कार्यान्वयन हेर्न समिति आज मेहेलकुना अस्पताल पुगेको हो ।
डेङ्गी तथा कोरोना भाइरस संक्रमणको अवस्था र आवश्यक किट भए नभएको बारे अस्पतालसंग समितिले छलफल गरेको छ । छलफलपछि अस्पतालमा हालसम्म डेङ्गी संक्रमणका बिरामी फेला नपरेपनि किट भने नभएको पाईएको हो ।
डेङ्गीको लक्ष्यण भएका बिरामी आउने गरेपनि किट नभएका कारण जाँच गर्न नसकिएको अस्पतालले जानकारी दिएको छ ।
यस्तै कोरोना भाइरस कोभिड–१९ अत्याधिक फैलिएको समयमा २०७८ साल वैशाख ३० गते समितिले मेहेलकुना अस्पतालमा अक्सिजन सहितको एम्बुलेन्स र अक्सिजन प्लाण्ट हुनपर्ने भन्दै सरकारलाई निर्देशन दिएको थियो ।

सोही बमोजिम संघिय सरकारबाट एम्बुलेन्सको व्यवस्थापन तथा अक्सिजन प्लाण्ट जडान भएको थियो । तर एम्बुलेन्स सञ्चालन भएको भएपनि अक्सिजन प्लाण्ट भने सञ्चालनमा नरहेको पाइएको समितिका सभापति देवी ओलीले जानकारी दिईन् ।
उनले अस्पतालमा कुनैपनि बिरामीले चेकजाँच गर्न नपाउने, सरकारबाट निशुल्क पाउने औषधी नपाएर किन्नुपर्ने अवस्था ल्याउन नदिन अस्पतालका कर्मचारी तथा व्यवस्थापन समितिलाई सुझाब दिएकी छन् ।
‘तपाईहरुका समस्या केही छन् भने भन्नुहोस्’ सभापति ओलीले भनिन्“हामी सरकारलाई निर्देशन दिन्छौं तर नागरिकले दुख पाउनुभएन ।”

यस्तै समितिले अस्पतालमा आउने बिरामी, जनशक्तिको अवस्था, निशुल्क प्राप्त हुने औषधिको अवस्था, भौतिक संरचना लगाएतको समेत अनुगमन गरेर आवश्यक सुझाव दिएको छ ।
समितिले मेहेलकुना आँखा अस्पतालको समेत अनुगमन गरेको हो ।
अनुगमनमा सामाजिक विकास समितिका सभापति देवी ओली, सदस्य राजु नेपाली, प्रदेश मामिला समितिका सदस्य मिनासिंह रखाल , सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेल, युएन.डि.पी संसद सहयोग परियोजनाका संसद मामिला अधिकृत क्यारिना श्रेष्ठ र पत्रकारहरुको सहभागीता रहेको थियो ।
समितिले निरन्तर रुपमा सरकार तथा सरकारलाई दिएका निर्देशनहरु कार्यान्वयनको अवस्था र महामारीको रुपमा फैलिएका डेङ्गी र कोरोना संक्रमणको व्यवस्थापनको लागि पुर्वतयारीको विषयमा अनुगमन गरिरहेको छ ।

फरकबाटो ३० भाद्र २०७९, बिहीबार २०:४१