सुर्खेत । देशमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । आज (मंगलबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
फरकबाटो २६ असार २०८०, मंगलवार १०:४१