इराकसहित ७१ देशमा कामदार पठाउँदै सरकार

सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारीका कामदार पठाउन तयारी गरेको छ ।

श्रम मन्त्रालयले इराकको अवस्था विगतको जस्तो नभएको भन्दै नयाँ परिवेश मूल्यांकन र रोजगारदाता देशसँग छलफल गरी वैदेशिक रोजगारीका लागि खुला गर्ने छलफल भइरहेको जनाएको छ ।

आन्तरिक गृहयुद्धमा फसेका यी देशहरुमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार रहेको श्रम मन्त्रालयले जनाएको छ । साथै, श्रम मन्त्रालयले प्रतिबन्धमा रहेको इराकसँगै थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि पठाउने योजना रहेको जानकारी दिएको छ ।

सरकारले नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बताएका छन् ।

दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति जारी गरिने उनले बताए । ‘इराकमा पुननिर्माणको कामहरु भइरहेका छन् । आजको इराकको अवस्था मूल्यांकन गरी त्यहाँ कामदार पठाउने हो । सरकारले खुला गरेपनि सबै देशबाट नेपाली श्रमिकको माग आउँछ भन्ने सुनिश्चित भने छैन ।’ उनले भने ।

जति वटा देशबाट म्यानपावर व्यवसायीले कामदारको कोटा ल्याए ती सबै देशमा श्रम स्वीकृति जारी गरिने उनको भनाइ छ ।

हाल सरकारले वैदेशिक रोजगारीका लागि १११ देश खुला भएपनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा राखिएको छ ।

कालोसूचिमा राखिएका देशपनि कामदार पठाउन सरकारले तयारी छ । ती देशमा विगतमा नेपाली कामदारले आतंककारी हमला ज्यान गुमाएका छन् । त्यही भएर सरकारले कालोसूचीमा राखेको थियो ।श्रम मन्त्रालयले घोषणाअनुसार वैदेशिक रोजगारी खुला गरेमा यीसहित ७१ वटा मुलुक एकैपटक नेपालबाट वैदेशिक रोजगारीमा जान पाइन देशमा रुपमा सूचीकृत भएका छन् ।

नेपालले कतार, दक्षिण कोरिया, मलेसिया, युएई, जापान, मोरिसस र इजरायलसँग श्रम सम्झौता गरेको छ । सम्झौता भएका केही देशमा कामदार आपूर्ति गर्ने सकेको छैन । तर, पछिल्लो समय नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य समबन्ध कायम गरेको छ । जहाँ–जहाँ दौत्य सम्बन्ध कायम भएका छन् । ती सबै देश वैदेशिक रोजगारीका लागि खुला गरिने श्रम मन्त्रालयले जनाएको छ ।

हाल वैदेशिक रोजगारीमा ४५ लाखभन्दा बढी युवाहरू रहेको सरकारको अनुमान छ । पछिल्लो समय दैनिक दुई हजार ५ सय हाराहारी युवा कामको खोजीमा विदेशिने गरेका छन् । जर्मनी, पोचुर्गल, रोमानिया, कुवेत जर्मनी, साउदी अरब र ओमानसँगै सात देशसँग श्रम सम्झौताको तयारी रहेको श्रम मन्त्रालयले जनाएको छ ।