अवैध रूपमा अमेरिका जाँदै गरेका २८ जना नेपाली अजरबैजानमा पक्राउ


सुर्खेत । अवैध रूपमा सीमापार गर्दै ‘अमेरिका जान खोजेका’ कम्तीमा २८ जना नेपालीलाई अजरबैजानको सीमा सुरक्षा बलले पक्राउ गरेको छ । उनीहरूलाई नेपाल फर्काउनका लागि अजरबैजान सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजान पनि हेर्दै आएको छ ।

राजदूत मिलन तुलाधरका अनुसार नेपालीहरूलाई झुक्याएर पैसा उठाउँदै विदेश लान खोजेको सूचना दूतावासलाई प्राप्त भएको छ । राजदूत तुलाधरले भने, ‘संख्या यति नै भन्ने अझै प्रस्ट भइसकेको छैन । तर शुक्रबारसम्म बुझ्दा २८ जना नेपाली रहेको सूचना अजरबैजान सरकारबाट आएको छ ।’

अजरबैजानमा सीमापार गर्न खोज्दा केही नेपाली नागरिक समातिएको र उनीहरू सुरक्षाकर्मीको नियन्त्रणमा रहेको नयाँदिल्लीस्थित अजरबैजानको दूतावासले दिल्लीमै रहेको नेपाली दूतावासलाई जानकारी दिएको थियो । नेपाली दूतावास दिल्लीबाट मस्कोमा रहेको नेपाली दूतावासलाई त्यसबारेमा जानकारी गराएपछि नेपालीहरूको उद्धारका लागि गृहकार्य गरेको हो ।