हिउँमा फसेकाको उद्धार गर्न गएको हेलिकप्टर राहत दिएर फिर्ता

जुम्ला । जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेकाहरूलाई खानेकुरा छोडेर नेपाली सेनाको हेलिकप्टर फर्किएको छ । हिउँमा ३६ जना मानिस फसेका सेनाले जनाएको छ । कर्णाली प्रदेश सरकाले सुर्खेतबाट पठाएको हेलिकप्टरले हिउँका कारण तीन ठाउँमा फसेका नागरिकहरूलाई खानेकुरा छाडेर फर्किएको हो ।

नन्द वक्स गण जुम्लाका गणपति रविन थापाले हिउँमा फसेकाहरूलाई भोकबाट बचाउन खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हो । उनका अनुसार तातोपानी गाउँपालिका ८ मा रहेका गाग्रा, ऐडी ओडार र खोटेसल्लामा खानेकुरा खसालेर हेलिकप्टर फिर्ता भएको हो । स्थानीयवासी सुरतबहादुर शाहीसहितको टोली चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा गएको थियो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाकी प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले हिउँमा फसेकाहरू सुरक्षित रहेको र उनीहरूको उद्धारका लागि गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुभयो । हेलिकप्टरमा लगिएका खानेकुरा उनीहरूले प्राप्त गरेका र भारी हिमपातले भने हेलिकप्टर बस्न नसकेको उहाँले जानकारी दिए । हिउँमा फसेकाहरू सेतक चिनी (खिरौँला) कोर्न पाटन गएका थिए । त्यही क्रममा हिउँ परेपछि उनीहरू फसेका थिए ।