गठबन्धन भत्किन्छ, यो कर्णालीबाट सुरु हुँदैछ : बस्नेत

सुर्खेत । नेकपा (एमाले) का नेता महेश बस्नेतले अन्य दलहरुको गठबन्धनमा समस्या देखिन् थालेको भन्दै यो गठबन्धन धेरै समय नटिक्ने बताएका छन् । सोमबार प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले गठबन्धनमा ठूलो समस्या देखिएको पुष्टी कर्णालीबाट भएको बताए ।

उनले भने, ‘कर्णालीमा गठबन्धनको ठूलो समस्या देखा परेको छ । कर्णाली सरकार आधाआदी  संचालन गर्ने सहमति कार्यान्वयन नहुने जस्तो अवस्था देखे पछि काँग्रेसका मुख्यमन्त्रीका दाबेदार जीवन बहादुर शाहीले पछिल्लो पटक दिएको सार्वजनिक अभिव्यक्तिले गठबन्धनमा निकै ठूलो समस्या र धोका छ भन्ने पुष्टी गरेको छ ।’ उनले गठबन्धन जति लम्बियो, त्यति एमाले नै जनताकोबिचमा हाइलाइट हुँदै जाने र अब सिंगो राष्ट्रको नेतृत्व एमालेनै गर्ने बताए । वैचारिक र सांगाठनिक रुपमा एमाले अझै बलियो भएको उनको भनाई थियो ।

आगामी निर्वाचनमा जनताले एमालेलाई नै सुखी नेपाली, समृद्ध नेपालको सपनालाई साकार पार्ने जिम्मेवारी दिने र  अब निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने पनि दाबी गरे । ‘पार्टी विभाजनले नेतृत्व तहमा असर गरे पनि कार्यकर्ता र जनतासम्म असर गरेको छैन् । त्यसैले जनताले फेरी पनि एमालेलाई नै जानादेश दिन्छन्’ उनले भने, ‘ अब जतिसक्दो छिटो जनतालाई नै छिनोफानो गर्न दिनुपर्छ । निर्वाचनमा जानुको विकल्प छैन् ।’

उनले गठबन्धन् दलहरुले न्यायलयमा सेटिङ गर्दा अहिले न्यायलयमा गम्भिर प्रश्न उठेको बताए । उनले अब समग्र रुपमा न्यायलयको बारेमा समिक्षा गर्ने र छानबिन समिति गराउनुपर्ने उल्लेख गरे ।