मापसे गरि सवारी चलाए जरिवाना सहित प्रशिक्षण

सुर्खेत । मादक पदार्थ सेवन गरि सवारी साधन चलाए जरिवाना सहित प्रतिक्षण समेत दिइने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मापसे विरुद्धको सचेतनामुलक कक्षा सुरु गरेको हो । आजदेखी सचेतना कक्षाको उद्घाटन गरिएको छ ।

मादक पदार्थ सेवनमा कारर्बाहीमा परेका ३० जना चालकहरु आज उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । सचेतना कक्षाको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

मा.प.से गरि सवारी चलाएकै कारण सुर्खेतमा पछिल्लो समय दुर्घटनाको दर बृद्धि हुन थालेपछि मा.प.से विरुद्धको सचेतना कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताए ।

उनले २० देखि २५ प्रतिशत दुर्घटना मा.प.से गरि सवारी साधन चलाएको कारणले हुने भएकोले कार्यक्रम गर्नुपर्ने आवश्यकता भएको सुनाए ।

उनका अनुसार तिन आर्थिक वर्षमा भएका १ सय २३ सवारी दुर्घटनामा ९१ जनाले ज्यान गुमाएका छन् । । आर्थिक वर्ष २०७५/०७६ मा भएका ४६ सवारी दुर्घटनामा २९ जना, आर्थिक वर्ष २०७६/०७७ मा भएका ४४ सवारी दुर्घटनामा ३७ र आ.व २०७७/०७८ मा भएका ३३ सवारी दुर्घटनामा २५ जनाले ज्यान गुमाएको आचार्यले जानकारी दिए । त्यस्तै चालु आर्थिक वर्ष २०७८/०७९ मा भएका १४ वटा सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याँक रहेको छ ।

तिन वर्षको अवधिमा मादक पदार्थ  सेवन गरि सवारी साधन चलाउने एकहजार पाँचसय अन्ठाउन्न चालकहरुलाई जरिवाना गरिएको आचार्यले तथ्याँक दिए । उनका अनुसार चालु आर्थिक वर्षमा समेत दुईसय पाँचजनालाई मापसेमा कारर्बाही गरिसकिएको छ ।

सचेतना कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले सुर्खेत जिल्लाबाट असल अभ्यासको सुरुवात भएको बताए । ‘दुर्घटनामा ८० प्रतिशत लापर्रबाही चालकको कारण हुन्छ ’ उनले भने “चालकले स्टेरिङ समाउञ्जेल मदिरा छुन्न भनी प्रतिवद्ध हुनुपर्छ ।” उनले यस्ता खालका कार्यक्रम नियमित रुपमा गर्न जरुरी भएको बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले कर्णाली प्रदेशका सबै जिल्लाहरुमा यस्ता खालका अभियानहरु सञ्चालन गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सुर्खेत जिल्लामा मात्रै नभई प्रदेशभर दुर्घटना न्युनिकरणका लागि यस्ता खालका कार्यक्रमहरु गर्न आवश्यक भएको उनले बताए ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले यस्ता कार्यक्रम प्रदेशभर गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मा.प.से मा जरिवाना तिरेका ३० जना सवारी चालकहरुलाई बिहिबार प्रशिक्षण दिएको हो । सचेतनामुलक कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुने ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।