छोरा बढ्दै, छोरी घट्दै

भ्रुण पहिचान र गर्भपतन मुख्य कारण

 

सुर्खेत । पछिल्लो समय छोरीको तुलनामा छोराको जन्मदर बढ्दै गएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतको दुईवर्षको तथ्याँकअनुसार छोरा जन्मने दर छोरीको भन्दा बढी रहेको हो ।

प्रदेश अस्पतालको दुई आर्थिक वर्षको तथ्याँक हेर्दा ५ हजार ५ सय ६० छोराको जन्म भएको छ भने, ४ हजार ४ सय ३३ छोरी जन्मिएका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश अस्पतालमा २ हजार ९ सय ४८ छोरा जन्मिएको तथ्याँक छ भने २ हजार ३ सय १७ छोरीले जन्म लिएको अस्पतालले जानकारी दिएको छ ।

जसमा अछाम जिल्लाका १३ छोरी, ३० जना छोरा र एक जना जुम्ल्याह छोराको जन्म भएको थियो । यस्तै बाजुरा जिल्लाका १ छोरी र ३ छोराको जन्म भएको थियो ।

बाँके जिल्लाका २ छोरा र छोरी, बर्दिया जिल्लाका ४ छोरी, ५ छोरा ,डडेल्धुराका १ छोरी जन्मिएका छन् ।

यस्तै दैलेख जिल्लाका ३ सय २२ छोरी, पाँच जना जुम्ल्याह छोरी र ४ सय १० छोरा तथा ६ जना जुम्ल्याह छोरासहित सात सय ४० जनाले जन्म लिएका हुन् ।

यस्तै दाङ्ग जिल्लाका २ छोरी र १ जना छोरा, दार्चुलाका १ छोरा,१ छोरी,दोलखाका १ छोरी ,डोल्पाका ११ छोरा र ११ छोरी,डोटीका १ छोरी,पुर्वी रुकुमका १ छोरा, हुम्लाका १९ छोरी र १८ छोरा,जाजरकोटका ४३ छोरी र ६९ छोरा,जुम्लाका २५ छोरी र ३७ छोरा,कैलालीका ४ छोरी र छोरा,कालिकोटका ७२ छोरी र १ सय छोरा,कञ्चनपुरका ४ छोरी र २ छोरा, कास्कीका १ जना छोराले प्रदेश अस्पताल सुर्खेतमा जन्म लिएका थिए ।

यस्तै मकवानपुरका १ छोरा,मुगुका नौ छोरी र १५ छोरा, नुवाकोटका १ छोरा ,पाल्पाका १ छोरा , सल्यानका ३५ छोरी र ४३ छोरा, सिन्धुपाल्चोकका १ छोराले जन्म लिएको अस्पतालले जानकारी दिएको छ ।

यस्तै सुर्खेत जील्लाका १ हजार ७ सय ३६ छोरी र २ हजार एक सय ७४ छोरा, पश्श्चिम रुकुमका ७ छोरी र ९ छोराले जन्म लिएका हुन् ।

आर्थिक वर्ष २०७७/२०७८ मा समेत प्रदेश अस्पताल सुर्खेतमा २ हजार १ सय १६ जना छोरी जन्मिएका थिए भने २ हजार ६ सय १२ छोरा जन्मिएको तथ्याँक अस्पतालसंग रहेको छ ।

पछिल्लो समय दम्पत्तिहरुमा छोराको चाहाना बढ्दै गएको र छोरीलाई भ्रुण हत्या गर्ने क्रम समेत बढेको स्वास्थ्यकर्मी तथा मानवअधिकारकर्मीहरु बताउँछन् ।

सहजै गर्भ पहिचान गर्न सकिने र गर्भपतन समेत गर्न सकिने भएका कारण छोरीभए गर्भपतन गराई छोरा राख्ने प्रवृत्तिका कारण छोराहरु जन्मने दर बढेको हो ।

यस विषयमा कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले आमा बुवाले छोरी भन्दा छोराको चाहाना बढि राखेको हुँदा छोराको जन्मदरमा वृद्धि भएको बताए ।

‘हाम्रो समाजमा अझै पनि छोराको चाहाना बढी छ,उनले भने“पहिलो बच्चा छोरी भएपनि दोस्रो बच्चा भने पहिचान गरेरै छोरा राख्ने प्रचलन बढेको छ ।”