सुर्खेत । “वीरेन्द्रनगर बजारमा राम्रो चलेको होटेल थियो । एउटा छोरा घरमा नपुग्दो केही पनि थिएन । श्रीमानको माया र साथले मेरो जिवन रंगिन बनेको थियो । राम्रो चलेको होटेल ,नियमित ग्राहक आउने त्यसैले द्धन्द्धको त्यो समयमा नेपाल प्रहरीमा दैनिक ग्राहकको रिपोर्ट बुझाउनुपर्थ्र्यो । तरपनि व्यवसायबाट हामी सन्तुष्ट नै थियौं । ”
वीरेन्द्रनगर ११ सुब्बाकुना सुर्खेतकी पार्वती डांगीले गहभरी आँशु झार्दै भनिन् ‘२०६० साल माघ देखी मेरो जिवन फिक्का भएको छ । तरपनि अझैँ सिन्दुर फर्किने आशामा छु । मेरो श्रीमान फर्किएपछि मेरो फिक्का भएको सिउँदो रंगिन हुनेछ र मेरो जिवनपनि ।’
वीरेन्द्रनगर ११ सुब्बाकुना सुर्खेतकी पार्वती डांगी
२०६० साल माघ १० गतेको कुरा हो । पार्वतीका श्रीमान शिवलाल खराल सुर्खेतको साटाखानीमा आमाको श्राद्ध्यका लागि भाई सल्लाह गर्न हिँडेका थिए । त्यसपछि उनी आजसम्म पनि फर्किएका छैनन् । तर उनी आउने आश भने पार्वतीले मारेकी छैनन् ।
१९ वर्ष भयो पार्वतीका श्रीमान वेपत्ता भएको । सशस्त्र द्धन्द्धका समयमा उनका श्रीमानलाई राज्य पक्षले वेपत्ता पार्यो या विद्रोही पक्षले बेपत्ता पार्यो त्यो पनि जानकारी छैन ।
सत्य पत्ता नलाग्दा सम्म श्रीमानको मृत्युको विधि (काजकिरिया) अझै पनि गर्न नसकेको उनले सुनाईन् ।
‘श्रीमान बेपत्ता भएको केही वर्षमा सिन्दुर लगाउन छोडेँ’ उनले थपिन् “तर मेरो सिन्दुर एकदिन फर्किन्छ की भन्ने आश लाग्न छोडेको छैन ।”
पार्वतीले राहतका नाममा एकमुष्ट १० लाख रुपैयाँ प्राप्त गरेकी छन् । आँफुलाई पैसा भन्दा श्रीमानको सत्यको आशा लागिरहने उनले सुनाईन् ।
लेकवेशी ४ सुर्खेतकी कलसी थापा
लेकवेशी ४ सुर्खेतकी कलसी थापा पनि सिन्दुर फर्किने आशमा बसेको १७ वर्ष भयो । तर उनको खुसी र उनको रंग अझै फर्किएको छैन ।
२०६२ सालमा घरबाटै नेकपा माओबादीका कार्यकर्ताहरुले उनका श्रीमान पदमबहादुर थापालाई उठाएर लगेको र हालसम्म पनि कुनै अत्तोपत्तो नभएको उनले बताईन् ।
‘मैले अझैपनि श्रीमान फर्किएर आउनुहोला भनेर काजकिरिया गर्न सकेकी छैन’ उनले भनिन्“ जिवनभरी साथ दिने श्रीमान जस्तो अरु कोही नहुँदो रैछ । उहाँ हुनु र नहुनुको जिवनमा धेरै फरक मैले पाएँ । मेरो सिन्दुर फर्किन्छ भन्ने आशा अझै पनि मलाई छ ।”
गुर्भाकोट नगरपालिका १३ सुर्खेतकी कौशिला दमाई
गुर्भाकोट नगरपालिका १३ सुर्खेतकी कौशिला दमाईको पनि श्रीमान पर्किने आशा मरेको छैन । २०५९ सालमा बहिनीको घर कैलालीमा गएको बेलामा राज्यपक्षले उनलाई अपहरण गरेको थियो ।
तर २० वर्ष पुग्दा समेत उनका श्रीमानको कुनै सत्यतथ्य जानकारी कतैबाट आएको छैन । उनले पनि श्रीमान फर्किने आशामा उनको नाममा धार्मिक कर्म केही गरेकी छैनन् । भन्छिन् “श्रीमान फर्किए के गरौंला ? त्यसैले कुनै धार्मिक काम गरेकी छैन । सिन्दुर मात्रै नलगाएकी हूँ । तर मेरो सिन्दुर फर्किने आश अझै मरेको छैन ।”
शसस्त्र द्धन्द्धका समयमा श्रीमान् वेपत्ता भएका यस्ता थुप्रै श्रीमतीहरु छन् जसले श्रीमान् फर्किएलान् भन्ने आश बिसौं वर्षसम्म पनि मार्न सकेका छैनन् । श्रीमान बेपत्ता भएपछि फिक्का भएको सिउँदो अझै रंगिन हुन्छकी भन्ने आशामै धेरै श्रीमातीहरु बसेका छन् ।
तरपनि नत उनीहरुको श्रीमानको लाश आउँछ नत सास नै । नत उनीहरुको विषयमा कुनै जानकारी नै आउँछ । कसले कहाँ लगेर के ग¥र्यो कसैलाई पनि थाहा छैन ।
बेपत्ता पारिएका नागरिकका विषयमा राज्य पनि मुखदर्शक बनिरहेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकसंग देशभर सशस्त्र द्धन्द्धका समयमा राज्य र विद्रोही पक्षबाट ९ सय ३१ जनालाई वेपत्ता पारिएको तथ्याँक रहेको छ ।
यस्तै कर्णालीमा ९९ जना र सुर्खेतमा १४ जना बेपत्ता पारिएको तथ्याँक इन्सेकसंग रहेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिए ।
उनले नेपालमा जबसम्म दण्डहिनताको अन्त्य हुँदैन तबसम्म यस्ता खालका घटनाहरु नरोकिने तर्क समेत गरे ।
सोमबार अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा आयोजित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विद्येयकका विषयमा अन्तर्रक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो ।
एड्भोकेसी फोरम, इन्सेक, नेपाल रेडक्रस सोसाइटी, द्धन्द्धपिडित साझा चौतारी, द स्टोरी किचेन र मानव अधिकारका लागि महिला एकल महिला समुह सुर्खेतको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा सहभागी बेपत्ता पारिएका व्यक्तिका परिवारले अझैपनि आफ्नो मान्छे फर्किने आश लाग्ने बताएका थिए ।
सीता वली १३ भाद्र २०७९, सोमबार १८:३३