बैंकमा थुप्रियो झण्डै ४ खर्ब


सुर्खेत । बैंक तथा वित्तीय संस्थामा करिब पौने ४ खर्ब लगानीयोग्य रकम रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.९२ प्रतिशत छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम ९० प्रतिशत सीडी अनुपात कायम गर्न पाउँछन् । यसरी सीडी अनुपात निर्देशित सीमाभन्दा कम हुनु भनेको बैंकहरूसँग करिब साढे ३ खर्ब रुपैयाँ थप लगानी गर्न सक्ने क्षमता हुनु हो । तर पर्याप्त रकम हुँदैमा बैंक तथा वित्तीय संस्थाले सहज रूपमा कर्जा विस्तार गर्छन् भन्ने अवस्था अब रहेन । धेरै कर्जा प्रवाहका लागि ऋणको माग, लगानीयोग्य वातावरण र बैंक तथा वित्तीय संस्थाको इच्छाशक्ति पनि त्यत्तिकै आवश्यक छ भन्ने अहिलेको वित्तीय प्रणालीको अवस्थाले देखाएको छ ।

आउँदो पुससम्मका लागि वाणिज्य बैंकहरूले ऋणपत्रलाई पनि निक्षेपमा गणना गर्न पाउने भएकाले अहिले बैंक तथा वित्तीय संस्थासँग करिब पौने ४ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४८ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।