
वाग्मती प्रदेश । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन् । । त्यसका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।
नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे गएको ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अहिले १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ सदस्य आवश्यक हुन्छ । प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई÷दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन् ।

फरकबाटो २२ कार्तिक २०७८, सोमबार ०८:२६