अनेरास्ववियुको नेतृत्व चयनका लागि मतदान चल्दै


सुर्खेत । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ ।

कमलादीमा रहेको प्रज्ञा भवनमा चलिरहेको मतदानमा विद्युतीय भोटिङ मेशिन प्रयोग भएको छ । अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल, उपाध्यक्षहरू मोती विक, लोकेश निरौला गरी चार जनाको उम्मेदवारी परेको छ । वाङ्छु योञ्जनले भने आफ्नो उम्मेदवारी फिर्ता लिँदै समिक बडाललाई समर्थन गरेका छन् ।

महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्य गरी पाँच जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै चार जना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् ।

महाधिवेशनले १७ पदाधिकारीसहित एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । यस्तै १५–१५ सदस्यीय तीन वटा आयोग पनि गठन गर्नेछ । सात वर्षपछि अखिलमा चुनाव भएको हो । यो महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि छन् ।