काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्छु भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

हिजो बेलुकी प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसीसीबारे निर्णय गर्न आग्रह गरेका थिए । जवाफमा ओलीले एमसीसी पारित गर्ने जिम्मेवारी सरकारको भएको बताएका हुन् । एमसीसीमा तपाईँले निर्णय नगरि भएन भन्दै हिजो बेलुका फोन गरेपछि ओलीले पहिले आफू नै यसबारे स्पष्ट हुन प्रचण्डलाई आग्रह गरेका थिए ।
‘तपाईँहरुले पहिले ओलीलाई हटाएपछि एमसीसी पारित गर्छौँ भनेर वचन दिनुभएको छ, अनि हटाइसकेपछि ४–५ महिनामा पारित गर्छौँ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधि सभामा एक सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस्, एमालेले त निर्णय गरिहाल्छ’ ओलीको जवाफ उदृत गर्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसअघि हिजै अमेरिकी सहायक मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै फोन गरी एमसीसीबारे आउँदो फागुन १६ गतेभित्र निर्णय गर्न भनेका थिए । साथै फोनवार्तामा लुले एमसीसी फिर्ता हुने अवस्थामा नेपाल नीति पुनर्विचार गर्ने र यसलाई चीनको हस्तक्षेप ठान्ने पनि बताए ।
नेपाली कांग्रेस एमसीसी अगाडि बढाउनुपर्ने निष्कर्षमा पुगेको छ । माओवादी केन्द्र अझै अलमलमा छ । प्रमुख प्रतिपक्ष दल एमालेले यसबारे पहिले सत्तारुढ दल स्पष्ट हुनुपर्ने भन्दै आएको छ ।

फरकबाटो २८ माघ २०७८, शुक्रबार १२:१४