मिटरब्याजीविरुद्ध दुई हजारभन्दा बढी उजुरी

काठमाण्डौ । मिटरब्याजीविरुद्ध देशभरबाट दुई हजारभन्दा बढी उजुरी परेको छ । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो।

कार्यदलको आह्वानअनुसार देशभरबाट २ हजार ४३ जनाले उजुरी दिएका कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डाक्टर भीष्मकुमार भुसालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार मधेस प्रदेशबाट मात्रै ११ सय ८२ उजुरी परेको छ ।

वाग्मती प्रदेशबाट ३ सय ५६ र लुम्बिनी प्रदेशबाट २ सय ११ वटा उजुरी परेको छ । अरु प्रदेशबाट पनि उजुरी परेको र सङ्कलनको काम भइरहेको भुसालले जानकारी दिनुभयो । पीडितहरुले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिएका हुन् ।

परेका उजुरीको अध्ययन गर्ने काम भइरहेको र भोलिदेखि स्थलगत अध्ययन सुरु हुने उहाँको भनाइ छ । स्थलगत अध्ययनको क्रममा अझै उजुरी आउने सम्भावना देखिएमा म्याद थप हुने पनि उहाँले बताउनुभयो । सरकारले गएको साउन २७ गते मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको थियो ।