मृतक धनीराम लामिछानेको परिवारसंग सहमतीपछि शव उठाइने

सुर्खेत । बिहिबार डिभिजन वन कार्यालय सुर्खेतमा मृत्यु भएका धनीराम लामिछानेको परिवारसंग सहमतीपछि उनको शव उठाइने भएको छ ।

बिहिबारदेखी आन्दोलित आफन्तहरुको माग सम्बोधन गर्ने सहमतीपछि धनीरामको शव उठाइने भएको हो ।

इलाका वन कार्यालयका इन्चार्ज कृष्णराम धिताल सहित चारजना लाई कार्रवाही, मृतकका १४ वर्षीय छोरा लाई उच्च शिक्षा सम्मको छात्रृबृद्धी, परिवारलाई २५ लाख क्षतीपुर्ती र ,मृतकको परिवारको दुईजनालाई एकमहिनाभित्रमा वन मन्त्रालय वा मातहतका कार्यालयमा रोजगारी प्रदान गर्र्नेुपर्ने माग आफन्तले राखेका थिए ।

उक्त सहमतीमा मृतक लामिछानेको दुई छोरीलाई रोजगारीको व्यवस्था गर्ने र आवश्यक राहतका लागि कर्णाली प्रदेश सरकारको क्याविनेटमा पेश गर्ने सहमति भएको हो ।

वीरेन्द्रनगर १३ भुतचोक सुर्खेतका धनीराम लामिछानेले आफ्नै बारीको सालको बुटा दाउराको लागि काटेपछि डिभिजन वन कार्यालयले बिहिबार बिहान उनकी श्रीमती बलिसरा लामिछानेलाई नियन्त्रण गरेको थियो ।

उनकी श्रीमतीलाई नियन्त्रणमा लिएपछि सोही दिन करिब दिउँसो ४ बजे धनीराम लामिछानेलाई समेत इलाका वन कार्यालयका इन्चार्ज कृष्णराम धिताल सहित चारजनाको टोलीले कुटपिट गर्दै नियन्त्रणमा लिएको र करिब साढे चारबजेतिर उनको मृत्यु भएको धनीरामकी भान्जी रोशनी तिवारीले जानकारी दिइन् ।

उनका अनुसार डिभिजन वन कार्यालयले धनीरामले आत्माहत्या गरेको बताउँदै आएपनि आफ्ना मामाको इलाका वन कार्यालयका इन्चार्ज कृष्णराम धिताल सहित चारजना, सुरेन्द्र राना, सन्तोष खत्री र पियुषराज तिवारीको कुटपिट पछि नै मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको हो ।

शनिबार मृतकको पोष्टमार्टमपछि दाहसंस्कार गरिने तिवारीले बताईन् । साथै प्रहरीले अहिले मुचुल्का उठाउँन प्रकिया थालिरहेको छ ।