
बिशाल ढकाल (बिन्द्रप्रसाद जैशी) युवा व्यवसायीहरुमा परिचित नाम हो । संगीत क्षेत्रले समेत बिशाललाई राम्रोसंग चिन्दछ । दैलेख जिल्लाको नौमुले गाउँपालिका व.डा.नं २ लेखतोलीमा वि.स २०४६ साल चैत्र १९ गते जन्मिएका बिशालको परिवार २०४७ सालमा वीरेन्द्रनगर बसाई सरेको हो । दैलेखमा जन्मिएपनि उनको बाल्यकाल सुर्खेतको वीरेन्द्रनगरमा बित्यो । श्री सरस्वती आधारभुत विद्यालय राकसपाइला ठौरी सुर्खेतबाट प्रारम्भिक शिक्षा गरेका बिशालले श्री आनन्द मा.वि कृष्णगञ्ज गुप्तीपुरदेखी कक्षा ८ पास गरेका हुन् । बाल्यकालमा लजालु स्वभावका बिशाललाई व्यवसाय र संगीत क्षेत्रले धेरै कुरा सिकाएको छ ।
बुवा नरेश्वर ढकाल र आमा मौनकला ढकालको जेठो सन्ताको रुपमा जन्मिएका बिशालको सानै उमेरदेखी काँधमा परिवारको जिम्मेवारी थियो । हजुरबुवा–हजुरआमा, बुवा–आमा र तिनजना दिदिबहिनीसहित आठजनाको परिवारको जिम्मेवारी बिशाल र उनका बुवामाथी नै थियो । सानैदेखी फोर्समा जागीर खाने सपना बिशालको थियो । आर्थिक अभाव भएकोले त्यहि सपना पुरा गर्न उनी बुवासंग रोजगारीका लागि भारत पसे ।
रोजगारी खोज्दै जाँदा संगीत भेटिएपछि

बिशाल १२ वर्षको उमेरमा बुवासंगै रोजगारीका लागि भारत पसेका हुन् । २०५८ सालमा रोजगारीका लागि भारतपसेपछि उनको तीन वर्ष पढाई रोकियो । तर भारतमै काम गरेर फेरी उनले आफ्नो पढाईलाई निरन्तरता दिए । बिशालले उत्तरप्रदेशको आग्राबाट एस.एल.सी. पास गरे । बिशालले रोजगारीको शिलशिलामा ८ वर्ष भारतमा बिताए ।
कामको शिलशिलामा भारत पसेका उनले पढाईलाई मात्रै निरन्तरता दिएनन् संगीत पनि सिक्ने मौका पाए । संगीतमा खासै रुचि नभएका उनले यो अवसर प्राप्त गरेपछि सङ्गिततिर बिस्तारै रुचि बढ्न थाल्यो । अहिले उनी कला क्षेत्रमा पनि सक्रिय छन् । २०७२ सालमा बिशालले आफ्नै लगानीमा एउटा म्युजिक भिडियो निर्माण गरेका छन् । उनले आफ्नै शब्द सङ्गित स्वरमा रचना गरेर चार वटा गित गाइसकेको छन् भने चार वटा भिडियोमा अभिनय समेत गरिसकेका छन् ।
कला संरक्षणका लागि चौतारी

२०५८ सालमा भारत पसेका बिशाल केही पैसा, केही साहस र केही सिप बोकेर नेपाल फर्किए र काम गर्न थाले । काम गर्दा गर्दै बिशालले २०७१ साल भदौ २१ गते न्यु बिशाल इन्जिनियरिङ्ग वर्कसप ( ग्रिल उद्योग ) सञ्चालन गरे । उनले १ लाख ४० हजारबाट व्यवसाय सुरु गरेर आफुसहित चार जनालाई रोजगारी दिएका थिए । त्यती मात्रै होइन विशालले २०७६ मा विशाल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन वर्कशप प्रा.ली. ८० लाख लगानीमा सुरु गरे । यस उद्योगमा उनले दक्ष जनशक्ति बाहिरबाट ल्याएर दक्ष र अदक्ष गरी प्रत्यक्ष रुपमा २२ जनालाई रोजगारी दिएका छन् ।
बिशालको संगीतमा समेत रचि भएको र कर्णाली प्रदेश पर्यटकिय दृष्टिकोणले राम्रो सम्भावना बोकेको प्रदेश भएकोले उनले स्थानिय नागरिक र बाह्य पर्यटकलाई लक्षित गरेर नयाँ व्यवसाय गर्ने सोच बनाए । आँफु सहित चारजनाको लगानीमा २०७८ असोज २१ गते फेशियल हाउस,भिनटेज कटेज एण्ड बार, चौतारी दोहोरी साँझ र ड्रिम फिट्नेश एण्ड हेयरबाल स्पा सञ्चालन ल्याएका छन् ।
उनीसंगै मानव वम,उपेन्द्र खड्का, डम्मर गौतमसहित तिन करोडको संयुक्त लगानीमा सुरु गरिएको व्यवसायले समेत ६० जना युवालाई रोजगार दिएको छ । संगीत क्षेत्रमा विशेष रुचि भएकोले व्यवसाय संगसंगै कलाको संरक्षण होस् भन्ने हेतुले चौतारी दोहोरी साँझको सञ्चालनमा ल्याएको उनी बताउँछन् ।
सफल हुन इमान्दारीता चाहिन्छ
बिशाल ढकाल सफल व्यवसायी हुन् । उनी आँफैमा सफल नभई उनको इमान्दारीता र असल स्वभावले नै उनलाई सफल बनाएको हो । उनी भन्छन् “ग्राहक देवता हुन् । असल व्यवहार , राम्रो र गुणस्तरिय सेवा दिनसके सफल भइन्छ ।” बेरोजगार युवाहरुलाई रोजगारी दिनु नै पहिलो सेवा भएको उनी बताउँछन् । थुप्रै प्रकारका सेवाहरु ग्राहकहरुलाई आँफुहरुले प्रदान गरेको उनी सुनाउँछन् । घर बनाउँदा चाहिने ग्रिल,सर्टर च्यानल ट्रर्सहरु, सस्तो रकममा भुकम्प प्रतिरोधात्मक घर निर्माणका सामागी्र प्रदानका साथै रेष्टुरेण्ट सेवा,फेशियल सेवा, दोहोरी साझँमा आफ्नो थकान मेट्न ग्राहक आउने र ग्राहकहरुलाई राम्रो व्यवहार गर्नुपर्ने उनको तर्क छ ।
कर्णालीमा पहिलो पटक स्पा सेवा भित्राएका व्यवसायी बिशाल सुनाउँछन् “ढाड, खुट्टा, दुख्ने र मोटोपनको समस्या समाधानका लागी स्पा, साउना र स्टिम मार्फत थेरापी गरेर काठमान्डौं जानुपर्ने बाध्यता यस्ता समस्या बोकेका बिरामीका लागि छुटेको छ ।”
बिचलित हुनु असफलताको सुरुवात हो
जिवनमा बिचलित हुनु, मेरो केही छैन, कोही छैन भनेर सोच्नुभन्दा केही गर्ने बाटो खोज्नुपर्ने उनी उनको भनाई छ । मैले सरकारी जागिर खान सकेन, म सँग कुनै सिप छैन भनेर बिचलित नहुन र कडा मेहेनत गर्न युवाहरुलाई उनी सल्लाह दिन्छन् ।
सानो लगानीबाट पनि व्यवसाय सुरु गरेर राम्रो कमाई गर्न सकिने उनी बताउँछन् । सिप जिवनको बाँच्ने आधार भएकोले पहिलो प्रथामिकता सिपलाई दिनुपर्ने र सिपले मान्छेलाई भोको मार्दैन भन्ने सन्देश बिशालको छ ।
सफलताको साँचो परिवार

उनको बास्तविक नागरिकताको नाम बिन्द्रप्रसाद जैशी नै छ । भारतमा जाँदा उनको नाम बिशाल रहन गयो । भारतमा पढाई गर्ने क्रममा त्यहाँको मार्कसिटमा बिशाल ढकाल थियो । जसकारण सवैले चिन्ने र बोलाउने नाम बिशाल भएपछि विशाल नामले नैं बाहिर चिनिन पुगे । २०६४ सालमा बिवाह बन्धनमा बाँधिएका उनको परिवारमा अहिले सात जनाको परिवार छ । आमा–बुवा, जिवनसाथी, दुई छोरा, एक छोरी र आफुसहित सात जनाको परिवार उनको छ । वीरेन्द्रनगर २ मा घर भएका उनको सफलताको साँचो उनको परिवार नै हो ।
आमा–बुवा, दिदिबहीनी, जिवनसंगीनी लगाएत आफन्तहरुकै सहयोग, साथ र हौशलाकै कारण उनी आज सफल व्यवसायी छन् । ‘अझै सफल त भइसकेको छैन’ उनी भन्छन्“ अझै धेरै काम गर्न बाँकी छ । म जे छु , जहाँ पुगेको छु । यो सफलताको साँचो मेरो परिवार नै हो ।”
व्यवसायलाई निरन्तरता दिनु नै आफ्नो योजना रहेको र देशमा आर्थिक समस्या समाधान भयो भने पर्यटकलाई अझैं आकर्षित बनाउन र कर्णाली प्रदेशमा पर्यटन क्षेत्रको विकास गर्न गोठीकाँडा रिसोर्ट सञ्चालन गर्ने योजनामा उनी छन् । धेरै लगानीमा अत्याधुनिक सेवासुविधाका साथ विशेष गरी रारा(मुगु), जुम्ला, डोल्पा, हुम्ला, हुम्ला र सुर्खेत आउने पर्यटक का लागि एकदमै शान्त वातावरण, बसौं–बसौ लाग्ने र कर्णालीका अर्गानिक खानाका परिकारहरुको व्यवस्था भएको र पर्यटक क्षेत्रलाई टेवा पुग्ने गरी सञ्चालन गर्ने र वीरेन्द्रनगर देखि सिद्धपाईला सम्म एउटा केबुलकार जोड्ने योजना उनले बताएका छन् ।

ललिता विश्वकर्मा ओड २१ श्रावण २०७९, शनिबार १३:२८